इनरुवा (सुनसरी) । तराई मधेस क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन्। मधेस क्षेत्रमा बसोबास गर्नेमधेसी समुदायका व्यक्तिले छोरी÷चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनिशक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो। हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ।
ऋाज हामी तपाईँहरूले योभन्दा फरक प्रचलन सुनाउँदै छौँ, जो सुन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ। यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँकामरिक समुदायको, जहाँ आजपर्यन्त छोरी÷चेलीको विवाह गर्दा दाईजोमा गाउँनै दिने गरिएको छ।
सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाईजोको रूपमादिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले जानकारी दिए। शनिबार मरिक समुदायले छठका लागि बाँसकासामग्री बनाइरहेका बारे रिपोर्टिङ्ग गर्न गएका हामीलाई उनले त्यो कुरा सुनाउँदा हामीलाई पनि त्यस्तै आश्चर्य लागेको थियो।
मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्याइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाईजो स्वरूप दिने गरेकोभट्टाईले सुनाए। उनको कुरा सुनेपछि हामीले हरिनगर–३ का चन्दन मरिकलाई यसबारे जिज्ञासा राख्यौँ। जवाफमा उनले भने,‘हो निहजुर ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन छ, यसको उद्देश्य भनेको छोरीचेली र भोलि जन्मिने सन्ततीलाई सहज होस् भन्नेहो।’
मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पुर्याउने, चाडबाडका बेलामाबाँसका सामग्री बनाएर बिक्रीवितरण गर्नु हो। चाडपर्व, व्रतबन्धलगायत अवसरमा बाँसको सामग्री प्रयोग अनिवार्य भएकाले एक जनाकोगाउँमा अर्को मरिक समुदायका व्यक्तिले बिक्रीवितरण गर्न नपाइने आन्तरिक सहमति हुने गरेको छ।
विशेष गरेर ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले तोकिएका व्यक्तिबाटै विभिन्न सामग्री लिने गरिन्छ। यजमानले लिएको सामग्रीवापतमरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिने गरेका छन्।
विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायकाव्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्नका लागि गाउँ नै बाँडफाँट गरेको हुन्छ। कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारकोजिम्मा लिने भनेर आपसी समझदारी हुन्छ। एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिवानासमेत गर्ने गरिएको छ।
आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबार अनुसारको रकम लिई बेच्नसमेत सक्ने चलन रहेको छ। एक गाउँ बेच्दा रु तीन लाखदेखि चार लाखवा सामाजिक मूल्याङकनअनुसार रकम लिने दिने गरिन्छ। सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी–ज्वाइँलाई गाउँमै बस्ने सर्तमादाइजो स्वरुप दिने गरिएको हरिनगर–२ का वीरेन्द्र मरिकले बताए। दाईजोमा दिएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमतिसमेत पाउनेर मरिक समाजले त्यसलाई स्वीकार गर्ने चलन रहेको उनले सुनाए।