भक्तपुर । वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले चाँगुनारायण नगरपालिकालाई योग नगर घोषणा गरिएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै योगलाई स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणको आधार भएको बताउनुभएको छ ।
चाँगुनारायण नगरपालिकाद्वारा आयोजित “योग नगर घोषणा”, ‘चाँगु यं’ ज्योति सन्देश स्मारिका विमोचन तथा योग विज्ञान शिविर कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले योगलाई जीवनशैलीसँग जोडेर अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका साथै सामाजिक सद्भाव र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले चाँगुनारायण नगरपालिकाले योग तथा स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा थालेको अभियान प्रशंसनीय रहेको बताउनुभयो ।
कार्यक्रमका क्रममा ‘चाँगु यं’ ज्योति सन्देश स्मारिकाको विमोचन समेत गरिएको थियो भने योग विज्ञान शिविरमा सहभागीहरूले योग अभ्यास र स्वास्थ्यसम्बन्धी जानकारी लिएका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, योग प्रशिक्षक, स्थानीयवासी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।