बर्दिया । बारबर्दिया नगरपालिका-९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्छन्। मुक्त कमैया बस्तीमा बसोबास गर्दै आएका उनको दैनिक कमाइ भने ५०० रुपैयाँ मात्र हो ।
बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, चन्द्रबहादुर मात्र होइन, उनका थुप्रै साथी ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकल चलाएर प्रत्येक दिन बिहान गुलरिया बजार पुग्छन् । मुक्त कमैयाका लागि सरकारले व्यवस्था गरेको जग्गामा उनीहरूको बसोबास छ। धेरै मुक्त कमैया आफ्नो गाउँमा रोजगारी नभएपछि साइकल चलाएरै रोजगारीको खोजीमा सदरमुकाम गुलरिया पुग्छन्।
चन्द्रबहादुरले भने, ‘कामको खोजीमा गुलरियासम्म बिहानबेलुका ओहोरदोहोर गर्दा ३२ किलोमिटर साइकलबाटै यात्रा हुन्छ तर कुनै कुनै दिन त काम नपाइँदा रित्तै फर्किनु पर्छ ।’
वर्षभरिमा केही दिन मात्र गाउँमै कृषिको काम पाइन्छ। वनगाईका अर्का मुक्त कमैया मङ्गतु थारूले कहिलेकाहीँ गुलरिया ढिला पुग्दा काम नपाइने बताउनुभयो । उनीहरू गुलरियामा ज्यालामजदुरीको काम गर्न घरबाट बिहान ६ बजे नै निस्कन्छन् । घरबाटै खाना र खाजा बनाएर कार्यस्थलमा जानु उनीहरूको दैनिकी हो ।
‘खाना र खाजा पनि बोकेर जानु पर्छ, काम अनुसारको दाम पनि पाइँदैन । ३२ किलोमिटर साइकल कुदाउनु पर्दा थकाइ पनि त्यत्तिकै लाग्ने गर्छ ’, उनले भने।
चन्द्रबहादुर र मङ्गतु जस्तै करिब ५० मुक्त कमैया दैनिक ज्यालादारीका लागि गुलरिया पुग्छन् । चन्द्रबहादुरले भने, “बिहान ८ बजे काम शुरु गरे पनि सकिँदा ५ बज्छ । अनि घर फर्किंदा राति हुन्छ । पाँच सय रुपियाँ कमाउन त्योभन्दा बढी मेहनत गर्नु पर्छ।’ वनगाईका अर्का मुक्त कमैया भरोसे थारूले कहिलेकाहीँ बाटोमा साइकल पञ्चर हुँदा काम नै छुट्ने र त्यत्तिकै घर फर्किनुपरेको अनुभव सुनाए। यो खबर आजको गोरखापत्रमा छ ।