पाँचथर । बाढीले हेवाखोलामा रहेको बेलिब्रिज बाढी बगाएपछि अवरुद्ध रहेको मेची राजमार्ग सञ्चालनमा आएको छ । सडक डिभिजन इलामले डाइभर्सन निर्माण गरेसँगै अबरुद्ध रहेको मेची राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको हो । असोज १२ गते हेवा खोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि सडक पूर्णरुमा अवरुद्ध थियो ।
मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ रहेको हेवा खोलामा गत वर्ष मात्र निर्माण गरिएको बेलिब्रिज असोज १२ गते आएको बाढीले बगाएको थियो ।
बेलिब्रिज बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक ठप्प भएको थियो । दसैंको मुखमै खोलाबाट सामग्री तारेर लैजान नसक्दा हेवा पारीको पाँचथरसँगै ताप्लेजुङ जिल्लामा खाद्यान्न लान असहज थियो । यता बाँसको फड्के साँगुबाट मोटरसाइकल आवतजावत भइरहेका थिए ।
पाच्थरका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइराला, सुरक्षाका सबै निकाय, जनप्रतिनिधि, इलाम सडक विभाग तथा स्थानीय नागरिक लगायतको पहलकदमीमा यातायात सुचारु भएको हो ।