काठमाडौं ।लामो समयदेखि शिक्षक आन्दोलन चलिरहेको बेला बिभिन्न स्थानीय तहहरुले आन्दोलनरत शिक्षकहरुलाई विधालय फर्किएर पठनपाठन सुरु गर्न आग्रह गरेका छन्। भने केही स्थानीय तहले आन्दोलनमा गएका शिक्षकको तलब समेत कटौती गर्ने जानकारी गराएका छन्।
गुल्मीको कालिगण्डकी गाउँपालिकाले शिक्षकहरूलाई १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन निर्देशन जारी गरेको छ ।
पालिका अध्यक्ष वेद बहादुर थापाले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई वैशाख १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा हाजिर हुन निर्देशन दिएका हुन् ।
त्यस्तै स्याङ्जाको गल्याङ नगरपालिकाले सामुदायिक विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु गर्न आग्रह गरेको छ । नगर कार्यपालिका र नगर शिक्षा समितिका बैठकले आइतबारदेखि सामुदायिक विद्यालयमा पठनपाठन सुरु गर्ने गराउने निर्णय गरेको हो । स्याङ्जाकै हरिनास नगरपालिकाले पनि आन्दोलनमा गएका शिक्षकहरुको तलब कटौती गर्ने जानकारी गराएको छ ।
काठमाडौं केन्द्रीत शिक्षकहरुको आन्दोलन गत चैत २० गतेदेखि चलिरहेको छ । ऐन जारी नभए सम्म आन्दोलन फिर्ता नलिने अडान सहित आन्दोलित शिक्षकहरु वार्ता मार्फत समाधान खोज्ने प्रयासमा छैनन्। आन्दोलनका कारण सामुदायिक स्कुलमा भर्ना अभियान र पठनपाठन ठप्प भएको छ ।