रुकुम पश्चिममा डबल क्याब जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सोमबार बिहान करिब ११ः३० बजे सानीभेरी गाउँपालिका–९ खारखोला क्षेत्रमा मध्यपहाडी लोकमार्गअन्तर्गत खलंगाबाट सिम्ली बजारतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ज ६४० नम्बरको डबल क्याब जिपले विपरीत दिशाबाट आउँदै गरेको रा.४ प. १५२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
जिप चालक सानीभेरी गाउँपालिका–९ सिम्ली बजार निवासी २८ वर्षीय महेश भण्डारी रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार सानीभेरी गाउँपालिका–३ का २७ वर्षीय गोविन्द विक र अन्दाजी २७ वर्षीय काशीराम विक दुर्घटनामा परेका थिए।
दुर्घटनामा मोटरसाइकल चालक गोविन्द विकको दुवै खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। पछाडि सवार काशीराम विकको दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवैलाई तत्काल उद्धार गरी सानीभेरी अस्पताल सिम्ली हुँदै मिसन अस्पताल चौरजहारी पठाइएको थियो। उपचारका क्रममा दिउँसो करिब १ः४५ बजे चिकित्सकले काशीराम विकलाई मृत घोषणा गरेका हुन्। मोटरसाइकल चालक गोविन्द विकको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न जिप चालक महेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।