कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै काठमाडौ गोखार्जले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।
सोमबारको पहिलो खेलमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौले दोस्रो खेलमा आएर पहिलो जित हात पारेको हो। काठमाडौ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो।
काठमाडौसँगको हारले कर्णालीको अपराजित यात्रामा पुर्णविराम लागेको छ। कर्णालीले तेस्रो खेलमा आएर पहिलो हार व्यहोरेको हो।
कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। दोस्रो खेलमा विराटनगर किंग्समाथि ४ विकेटको जित निकालेको थियो।
कर्णालीले दिएको १ सय ८१ रनको लक्ष्य काठमाडौंले २ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।