जिन्दगीका २७ वर्ष पार गरिसक्दा पनि जिन्दगीलाई अझैं पढ्दै बुझ्दैछु । अनी पानी जस्तै निरन्तर बगिरहेछु । तथापि जिन्दगीको छेउटुप्पो फेला पार्न सक्या छैन । जिन्दगीको गोरेटोमा उभिएर चारैतिर हेरेँ भने आउनेहरू आइरहेका जानेहरू गइरहेका दृश्य आँखामा लिएर उभिने एउटा म मात्र भएझैं लाग्यो जिन्दगीमा । चटारो अनि हतारले भरिएको मेरो जिन्दगी । देख्थें मानिसहरु हतारमै दौडिरहेका थिए । जान होस् या आउन । यस्तो लाग्छ मलाई, म एउटा सालिक राख्न बनाइएको रित्तो पिलर हुँ, जहाँ सालिक राखिने कुनै टुङ्गो छैन ।
हो म त्यहि रित्तो अविचल उभिएको छु ।बीच चौराहामा । मान्छेले हिँड्न बनाइएका धेरै पहिलादेखि हिँड्न थालेका अहिले रङ्ग उडेर उदास लाग्दो देखिएको मेरो जिन्दगी जस्तै ती विदेशी सडकहरू मा यात्रा कहाँसम्म हो ? थाहा छैन मेरो जीवन यात्रा जस्तै अविचलित अविराम र पटकपटक फेरिएका गन्तब्यहरु जहाँ पुग्न मेरा पाईलाहरु निरन्तर अघि बढी रहेका छन् । मेरा पाइलाभन्दा अघिअघि निरन्तर आफ्नो अग्रता लिईरहेका यी विदेशी सडकका किनारमा बेलगाम बेढङ्गले उभिएको म। न म पीपल, न कल्पवृक्ष जो कहिल्यै मर्दैनन् । तर म पटक पटक मर्दै गएँ ।
कति पटक पतझडको रुख भएँ उराठ लाग्दो दिक्दार लाग्दो कति पटक आफूलाई सम्हाल्दै गएँ । सायद अव म आफूलाई सम्हाल्न सक्छु भन्ने उत्साह उर्जा र ढाडस मिलेको छ आफ्नै मन मुटु र खुशीबाट । अचेल जबजब एकान्तमा हुन्छु, मलाई लाग्छ के जिन्दगी सपना अनि बिम्बै बिम्ब मात्रै हो त ? के जिन्दगीलाई चिन्न मलाई अझै युगौंयुग लाग्ने नै भो त ? के मैले जिन्दगीमा चिन्न बाँकी अरू थुप्रै कुराहरु छन् ? के यो सत्य होइन र ? सायद नदीनालाहरू, डाँडाकाँडा र पहाडहरू, पाखा पखेरा र प्रकृतिका लोभ लाग्दा अनेकौं दृश्यहरु नबुझी बुझिँदैन जिन्दगी पनि ।
मैले सधैं आफूलाई एक्लै हिँडाउन खोजेको त होइन तथापि अचेल मेरो यात्रामा साथ दिने दायाँबायाँ त मेरो मन मुटु र खुशी मेरो छाँया बनेर साथ छन् तब त केहि गर्ने जाँगर छ हौसला छ । दुनियाँले यो भिडसँग म दौडिन सक्दिनँ भनेकै हुन् । अरूको गति र चालसँग चल्न सक्दिनँ भनेकै हुन् मेरो विदेशी मरुभूमि मा हिँड्दा हिँड्दै जब म थाकेर पछि छोडिन खोज्थें तब मेरो मनमुटु र मेरो उत्साहले मलाई मेरो हातमा समात्दै घिच्याउँदै अघि बढ्न हौस्याउँथ्यो र लखेट्थ्यो जिन्दगीको यात्रामा कहिले भीडको बीचमा परियो त कहिले ठेलमठेल कोलाहलयुक्त भीडमा निस्सासियो ।
जन्मभूमि को याद सुस्ताउँदा परिवार को यादले नसताएको पनि होइन । कहिले गोधुली साँझ शितलताले त कहिले भोक र तिर्खाले दौडायो । उभिन नदिइकन पछाडिबाट घचेटिरहने विगतको पञ्जातिर मुन्टो फर्काएर हेर्न कहिल्यै पाइन मैले । र अहिले लाग्दैछ पछाडि फर्केर हेर्न पनि नपरोस् ।
जान मन छ अघि बढ्दै जाओस् मेरो पाइलाहरु केवल परिवार को साथ र सहारामा । बस उहि मेरो मन मुटु र जीवनको खुशीको लागी मेरो परिवार नै हो ।
अविरल यात्रामा बगिरहेको जिन्दगी साच्चिकै अविराम छ । यो रहस्य बुझ्न नसकेर हो या जिन्दगी बुझ्न नसकेर हो रनभुल्ल नै भएर कटिरहेका जिन्दगीका पलहरु कुनै न कुनै दिन गणतव्य भेटाउने आशमा अल्झिएका छन्। थाहा छैन्। गणतव्य कठिन हुने की सहज हुने तर यात्रा भने निरन्तर बढीरहेको छ ।