आठबिसकोट । अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली सहरमा सवारी साधन दुर्घटना हुँदा २ जना नेपाली युवकको ज्यान गएको छ । भने अन्य एकजना घाइते भएका छन्। उक्त घटनामा चालकलाई ज्यान मार्ने उद्योग मुद्दा चलाइएको छ ।
लाउडन काउन्टी शेरिफको कार्यालयले चालकको नाम सार्वजनिक गरेको छ । शेरिफको कार्यालयले मादक पदार्थ सेवन गरि गाडी कुदाउने चालक भर्जिनिया अल्डी शहरका ३० बर्षिय नेपाली मूलका विजय तामाङ भएको जनाएको छ ।
३० वर्षीय तामाङलाई अनैच्छिक हत्या गरेको अभियोग लगाइएको शेरिफको कार्यालयले जनाएको छ । अन्वेषकहरूले दुर्घटनाको कारण रक्सी भएको विश्वास गरेका छन् भने थप आरोपहरू विचाराधीनमा समेत रहेको जनाएका छन् । दुर्घटनामा परी ज्यान गुमाउने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी र अर्का युवक बर्दियाका विवेक सुवेदी भएको र काठमाडौंका मेहुल श्रेष्ठ घाइते भएका हुन्। अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था खतरामुक्त छ।
आठबिसकोटका केसी केहि महिना पहिले मात्रै अवैध बाटो हुँदै अमेरिका गएका थिए । रुकुम पश्चिमका लागी सपनाको देश मानिने अमेरिका जान ८० लाख देखि १ करोड रुपैयाँ सम्म दलाली लाई बुझाएर अमेरिका जाने गर्छन्। घरपरिवारको खुसी र आफ्नो सपना पुरा हुन नपाउँदै सुरेश अमेरिका मै अस्ताएका छन्। अहिले उनको गाउँ शोकमा डुबेको छ । कलिलो उमेरमा अमेरिका पुगेका केसी आफु जाँदा लागेको कर्जा समेत तिर्न नपाई अस्ताएका छन्।
दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको बताइएको छ। लाउडाउन काउन्टी सेरिफ कार्यालयले कारचालक ३० वर्षीय नेपाली विजय तामाङलाई पक्राउ दुईजनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ। अहिले उनलाई लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको छ।