रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२ लामितालस्थित सानीभेरी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन तथा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले ६ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार २०८३ कात्तिक १५ गते राति करिब १० बजे गोप्य सूचनाका आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट छिन्खेतको प्रहरी टोलीले अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसार भइरहेको अवस्थामा सवारीसाधन फेला पारेको हो।
प्रहरीले घटनास्थलबाट एक थान जेसीबी, चार थान टिप्पर र एक थान ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि मुसिकोट नगरपालिकाको कार्यालयमा पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई तीव्रता दिएको छ।