डोल्पा । काठमाडौं मेडिकल कलेज (केएमसी) ले कर्णालीका दुर्गम तथा विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा डोल्पाका करिब दुई हजार नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन्। शुक्रबार दुनैमा आयोजित शिविरकै क्रममा केएमसीका अध्यक्ष डा. सुनील कुमार शर्माले डोल्पाका जेहेनदार तथा विपन्न विद्यार्थीका लागि एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गर्नुभएको छ।
डा. शर्माले एसईई उत्तीर्ण गरेका डोल्पाका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ विधामा काठमाडौं मेडिकल कलेज, काठमाडौं र नोबेल मेडिकल कलेज, विराटनगरमा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नुभएको हो। साथै, शिविरमा सहभागी हुन नसकेका थप १०० जनाको केएमसीमा निःशुल्क उपचार र पाँच जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना तथा केएमसीको समन्वयमा सञ्चालित शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत विभिन्न उमेर समूहका नागरिकले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श लिएका थिए।
शिविरमा १०३ जनाको ईसीजी, १६३ जनाको प्रयोगशाला परीक्षण, ३४९ जनाको भिडियो एक्सरे र २०४ जनाको इको परीक्षण गरिएको थियो। त्यस्तै, २७ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका ८२ जनालाई केएमसीमा रिफर गरिएको छ।
केएमसीमा रिफर भएका बिरामीको मिर्गौला प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेक अन्य सबै प्रकारका शल्यक्रिया निःशुल्क गरिने व्यवस्था मिलाइएको छ। औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ।
डा. शर्माको पहलमा केएमसी र नोबेल मेडिकल कलेजमार्फत यसअघि नै असहाय, आदिवासी, दलित तथा विपन्न परिवारका एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाइसकेका छन्। छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थी अहिले चिकित्सक, ल्याब टेक्निसियन, रेडियोग्राफर तथा नर्सका रूपमा स्वास्थ्य क्षेत्रमा कार्यरत छन्।
यसै अभियानअन्तर्गत मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। ती शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिने र थप उपचार आवश्यक पर्ने बिरामीलाई केएमसीमा रिफर गरी उपचारको व्यवस्था मिलाइनेछ।
दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनुका साथै शिक्षाबाट वञ्चित जेहेनदार विद्यार्थीलाई अवसर प्रदान गर्ने उद्देश्यले केएमसीले स्वास्थ्य उपचार र छात्रवृत्तिको अभियानलाई निरन्तरता दिँदै आएको छ।