गाउँको पीडा बोल्दा यहाँ राजनीति गरेको आरोप लाग्छ,
विकासको हिसाब माग्दा ठूलो भएको आभास हुन्छ।
अन्यायविरुद्ध आवाज उठाउँदा अहङ्कारको संज्ञा दिइन्छ,
सायद यहाँ सत्यभन्दा मौनतालाई संस्कार मानिन्छ।
समय बदलियो, पुस्ता फेरिए, नेतृत्वका अनुहार फेरिए,
तर गाउँका व्यथा उस्तै रहे, आश्वासनका भाषण फेरिए।
बिजुलीको उज्यालो अझै प्रतीक्षाको अँध्यारोमा छ,
सडक विकासका नाराभित्रै छ, खानेपानी कागजी धारामा छ।
जनताको जीवन उस्तै छ, तर अभिलेखमा समृद्धि छ,
विकासको दाबी गर्ने ओठमा तथ्यभन्दा बढी अभिव्यक्ति छ।
विडम्बना! प्रश्न गर्ने कठघरामा उभिन्छ, जवाफ दिने उन्मुक्त हुन्छ,
तथ्यको सामना गर्न नसक्दा व्यक्तिमाथि प्रहार हुन्छ।
कामको समीक्षा हुनुपर्नेमा नियतमाथि फैसला सुनाइन्छ,
विकासको बहस छाडेर आलोचकको पहिचान खोजिन्छ।
म कुनै दलको अन्धभक्त होइन, न कसैको विरोधी हुँ,
न कसैको विरासत भत्काउने अभियानमा लागेको हुँ।
म त आफ्नै माटोको भविष्य खोजिरहेको विद्यार्थी हुँ,
आफ्नै गाउँको सम्भावना र पीडाबीच उभिएको सचेत नागरिक हुँ।
किताबले अधिकार सिकायो, समाजले कर्तव्य चिनायो,
गाउँको यथार्थले मेरो कलमलाई बोल्न सिकायो।
मलाई ठूलो मान्छे बन्ने रहर छैन, गाउँ ठूलो भएको हेर्नु छ,
नेतृत्वको प्रशंसा होइन, जिम्मेवारी पूरा भएको देख्नु छ।
कुर्सीमा को बस्यो भन्ने मेरो सरोकार होइन,
त्यो कुर्सीबाट जनताको जीवन कति बदलियो भन्ने प्रश्न हो।
मेरो प्रश्नलाई राजनीतिको रङ पोतेर नछोप,
मौनतालाई सहमति र चेतनालाई अहङ्कार नठान।
म बोल्छु कसैको अस्तित्व मेटाउन होइन,
कसैको सम्मान र विरासत घटाउन होइन।
म त चाहन्छु, भोलिको पुस्ताले यही नियति भोग्न नपरोस्,
अधिकार मागेकै कारण कसैले अपमानित हुन नपरोस्।
आज उठेका प्रश्नले भोलिको बाटो खोल्न सकून्,
आजका आवाजले भोलिका गाउँहरू उज्याला बनाउन सकून्।
म विद्यार्थी हुँ, मेरो चेतना स्वतन्त्र छ,
म सचेत नागरिक हुँ, मेरो कलम निष्पक्ष छ।
मौन बसेर अन्यायलाई स्वीकार गर्न सक्दिनँ,
प्रश्न नगरी परिवर्तनको प्रतीक्षा गर्न सक्दिनँ।
त्यसैले मेरो आवाजलाई विद्रोहको नाम नदेऊ,
मेरो प्रश्नलाई व्यक्तिगत स्वार्थको बिल्ला नभिराऊ।
मौनता मेरो सहमति होइन, प्रश्न मेरो अपराध होइन,
किनकि गाउँको भविष्यबारे प्रश्न गर्नु अपराध होइन,
जवाफदेहिता खोज्नु हरेक सचेत नागरिकको अधिकार हो!