राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्वसावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन भनेको छ । यस्तै, वर्षाको बेला यात्रा गर्दा चनाखो हुन र सावधानी अपनाउन भनिएको छ ।
ठूलो पानी परेको बेला सकेसम्म रातको समयमा यात्रा नगर्न, बाढी आएका बेला खोला, खोल्सा, तथा नदी तर्ने प्रयास नगर्न प्राधिकरणले सूचनामार्फत अनुरोध गरेको छ ।
वर्षा भइरहेको समयमा काठ दाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न खोला वा नदीमा नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक रूपमा आवतजावत नगर्न प्राधिकरणले ध्यानाकर्षण गराएको छ ।
विपद्सम्बन्धी सूचना एवम् उद्धारका लागि १२३४, १०० र १११४ र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
यस वर्षको मनसुन गत असार ५ गतेदेखि सुरु भइसकेको छ । विपद्का कारण ठूलो जनधनको क्षति हुन नदिन र पूर्वसावधानी अपनाउनका लागि प्राधिकरणले अनुरोध गर्दै आएको छ ।