रुकुम पश्चिम। जबरजस्ती करणी उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम भाग) का अनुसार सम्मानित रुकुम जिल्ला अदालतले २०८२ बैशाख १५ गतेको फैसलाअनुसार जबरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय तोकेका फरार प्रतिवादीलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–१३ काउलेचौर निवासी ३२ वर्षीय कुबेर ओली रहेका छन्। उनी गिताराम ओलीका छोरा हुन्।
प्रहरीले विशेष खोजतलासका क्रममा असार २३ गते मुसिकोट नगरपालिका–१३ काउलेचौरबाट उनलाई पक्राउ गरेको थियो। त्यसपछि सजाय कार्यान्वयनका लागि रुकुम जिल्ला अदालत मुसिकोटमा पेश गरिएको प्रहरीले जनाएको छ।
अदालतको आदेशअनुसार कैदी पुर्जी प्राप्त भएपछि कुबेर ओलीलाई कैद सजाय भुक्तानका लागि कारागार कार्यालय रुकुम (पश्चिम भाग) चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।