दाङ. झुट्टा विवरण पेश गरी गैरकानुनी रूपमा नेपाली नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका–४ का वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–४ का वडा अध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), वडा सचिव राजेश कुमार कहार, तत्कालीन कार्यालय सहायक मिना चौधरी तथा सोही स्थानका आलम जोल्हा रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट नागरिकता प्राप्त गर्न अयोग्य रहेका गैरनेपाली नागरिक आलम जोल्हालाई राजपुर गाउँपालिका–४ निवासी स्वर्गीय सनाउल्ला जोल्हाको छोरा भएको झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र दिलाइएको खुलेको छ।
उक्त कार्यमा वडा अध्यक्ष, वडा सचिव तथा तत्कालीन कार्यालय सहायकको संलग्नता रहेको आशंकामा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनको कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ।
नागरिकता जस्तो संवेदनशील विषयमा सरकारी कागजातको दुरुपयोग गरी गैरकानुनी रूपमा नागरिकता बनाइएको आरोप सार्वजनिक भएपछि घटनाले स्थानीय तहमा समेत व्यापक चासो र चर्चा उत्पन्न गरेको छ।