काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ द्वारा आयोजित नव–निर्वाचित जिल्ला अध्यक्ष दीपक केसीलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
क्षेत्र नं. १ का अध्यक्ष विनोदकुमार दवाडीको सभापतित्वमा सम्पन्न भएकाे साे कार्यक्रममा, सचिव डा. जयन्त खनाल, महानगर अध्यक्ष दीपक रञ्जित, काठमाडौं–३१ का वडा अध्यक्ष रामचन्द्र श्रेष्ठसहित नव–निर्वाचित जिल्ला अध्यक्ष दीपक केसी मञ्चमा आसिन थिए।
क्षेत्रिय अध्यक्ष दवाडीद्वारा नेपाल एकीकरणका महानायक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकाे तस्बिरमा माल्यार्पण गरेपछि नव–निर्वाचित अध्यक्ष केसीलाई माला, खादा ओढाएर स्वागत गरिए । कार्यक्रममा उपस्थित नेताहरूले केसीलाई बधाई तथा शुभकामना दिंदै आ-आफ्ना विचार व्यक्त गरे।
नवनिर्वाचित केसीले बधाई तथा शुभकामना ग्रहण गर्दै समयकाे माग अनुसार राप्रपा देशका लागि अपरिहार्य रहेकाे बताउँदै काठमाडौं जिल्लामा राप्रपाको विशाल सहभागिता जनाएर आगामी स्थानीय निर्वाचनमा बलियो उपस्थिति गराउने प्रतिबद्धता व्यक्त गरे।
केन्द्रीय सहकोषाध्यक्ष शोभित उप्रेतीसहितकाे उपस्थितिमा भएकाे साे कार्यक्रमकाे सञ्चालन गत स्थानीय निर्वाचनमा राप्रपाका तर्फबाट प्रत्याशी बनेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले गरेका थिए।
काठमाडाैं महानगरपालिका वडा नं. १० र ३१ मा रहेका राप्रपा सम्बद्ध व्यक्तिहरूकाे बाक्लाे उपस्थिति रहेकाे साे कार्यक्रममा नव–निर्वाचित जिल्ला सदस्यहरूलाई पनि खादा–मालाद्वारा सम्मान गर्दै शुभकामना प्रदान गरिएको थियो।