गोरखा – लेकका गोठ उधो अर्थात् बेंसीतर्फ झार्न शुरू भएको छ । धान्यपूर्णिमालाई उधौली पर्वका रुपमा पनि मनाइन्छ । यसको सम्बन्ध गोठ तलतिर झार्नुसँग पनि छ ।
उधौली पर्वको केही हप्ता अघिदेखि केही हप्तापछिसम्म भेडा तथा चौँरीगोठ बेंसीतर्फ झार्ने चलन छ । गोरखामा सबैभन्दा बढी भेडापालन हुने चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का २५ हजार भेडाबाख्रा बेंसी झारिसकेको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो ।
चुमनुब्रीबाट भेडालाई गोरखा, धादिङ, लमजुङका बेंसीतिर लैजान थालिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताउनुभयो । हिजो र आज भेडाका लस्कर तलतिर गइरहेको देखिएको उहाँले बताउनुभयो ।
गोठालाहरू कुकुरसहित टोली बनाएर हिँड्छन् । बाटोबाटो भेडा बेच्दै गुजारा चलाउँदै वैशाख लागेपछि बाँकी रहेका भेडाको बथान लिएर लेकतर्फ फर्कने चलन छ । गोरखा सहित सबैजसो हिमाली तथा उच्च पहाडी क्षेत्रमा मंसिरको उधौलीमा गोठ बेंसीतिर झार्ने र बैशाखको उभौलीमा लेकतिर लैजाने चलन छ ।