कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ ।
मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ समान जोडेर लक्ष्मीको आराधना गर्दै ‘धनतेरस’ पर्व मनाइने तयारी छ । सामान्यतया पाँच दिनको यो पर्व यसपालि तिथिको भोग घटबढले छ दिनको भएको छ । आज अपराह्न १३ः२३ पछि त्रयोदशी लाग्नेहुँदा यसै तिथिको साँझ आज ‘धनतेरस’ मनाइने भएको हो ।
आज अपराह्न १३ः२३ सम्म द्वादशी तिथिको भोग रहे पनि त्यसपछि त्रयोदशी तिथि सुरु हुने भएको हुँदा आजै धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ । ‘धनतेरस’ लक्ष्मीकै आराधना भएको र यो सन्ध्याकालदेखि गरिने मैथिल चलन छ ।