विगत दुई वर्षदेखि चल्दै आएको इजरायल र हमासबिच अन्ततः युद्धविराम भएको छ । अमेरिकी सरकारको विशेष पहलमा भएको युद्धरत पक्षबिचको वार्ता सफल भएसँगै शुक्रबारदेखि युद्धविराम हुँदा मध्यपूर्वलगायत विश्वभर खुसी सञ्चार भएको छ । नेपालका लागि यो युद्धविरामले निकै ठुलो आशा जगाएको छ ।
हमास समुहले दुई वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेका ४८ जना (२० जना जीवित) बन्धकहरुलाई आजबाट रिहा गर्न लागेपछि नेपालका विपिन जोशीलगायत इजरायली परिवार व्यग्रतासाथ आफ्ना परिवारका सदस्य फर्कने क्षणको प्रतीक्षामा छन् । इजरायल र हमासबिच युद्ध सुरु हुनुअघि नै १० जना नेपाली युवाले ज्यान गुमाइसकेका छन्
गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन । तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । उनलाई जीवित रहेको विश्वास गरिएको छ ।
चौबिस वर्षीय नेपाली युवा विपिन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए । उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत छन्।
इजरायलले युद्ध विराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ । यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ ।
विपिनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ ।