अन्तरिम सरकारले प्रतिनिधि सभा निर्वाचनका लागि फागुन २१ गतेको मिति तोकेसँगै निर्वाचन आयोगले चुनावको तयारी शुरू गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिशबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेका छन् । सरकार गठन भएलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरी चुनावको मिति घोषणा गर्न सिफारिश गरेकी थिइन् ।
उक्त सिफारिसलाई राष्ट्रपति पौडेलले अनुमोदन गरिसकेकाले यो सरकारको प्रमुख लक्ष्य तोकिएको मितिमा चुनाव गराउनु नै हो ।
त्यसो त निर्वाचन आयोग ऐन, २०७३ को दफा (३) मा निर्वाचनको मिति तोक्नेसम्बन्धी प्रावधान छ ।
‘संघीय कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक नेपाल सरकारले निर्वाचनको मिति तोक्नेछ । तर, त्यस्तो निर्वाचनको मिति तोक्नुभन्दा अघि नेपाल सरकारले आयोगको परामर्श लिनुपर्नेछ,’ उक्त ऐनको दफा ३ को उपदफा (१)मा उल्लेख छ ।