राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा ) जिल्ला कार्यसमिति उदयपुरले सामाजिक सञ्जाल सम्बन्धी ज्ञापन पत्र बुझाएको छ ।रास्वपा जिल्ला सभापति चित्र कुमार कार्कीको नेतृत्वमा आज आइतवार जिल्ला प्रशासन कार्यालय उदयपुर मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
सभापति कार्कीका अनुसार नेपाल सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुर्याएको भन्दै रास्वपा उदयपुरले आपत्ति जनाएको बताए। पत्रमा लेखिएको छ ।, , सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई, नागरिकको मौलिक हक, विचार–अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान–प्रदानको प्रमुख माध्यम पनि हो । कुनै पनि बहानामा यसलाई बन्द गर्ने निर्णय जनताको व्यवसाय, सम्पर्क, शिक्षा लगायत विभिन्न सेवा र हक-अधिकार माथिको प्रत्यक्ष प्रहार हो । सरकारको यो कदमले आमनागरिकको व्यवसाय सञ्चालनमा समेत गम्भिर आघात पुगेको छ ।
त्यस्तै पत्रमा दशैँ, तिहार जस्ता चाडपर्वलाई लक्षित गरेर बढाइएका व्यवसायहरू जोखिममा परेका छन् । विदेशमा रहेका लाखौं युवा तथा परिवारका सदस्यहरूसँग सञ्चारको प्रमुख साधन सामाजिक सञ्जाल रहेकोमा चाडपर्वको मुखमा विच्छेद भएको छ। परिवारमा सञ्चारविमुख हुँदा सन्नाटा छाएको उल्लेख गरिएको छ ।
नेपालको संविधानको धारा १७ ले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई, र धारा १९ ले सूचना तथा सञ्चारको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको र संविधानले नागरिकलाई दिएको संवैधानिक अधिकार खोस्ने सरकारको रवैयाको राष्ट्रिय स्वतन्त्र पार्टी कडा प्रतिवाद गर्ने जनाईएको छ।
