आठबिसकोट, दाङ । रुकुम पश्चिमको आठबिसकोटमा सबैभन्दा बढी व्यस्त सडक अन्तर्गत पर्ने चिसापानी-राडीबजार जोड्ने सडक कालोपत्र गर्ने योजना अलपत्र परेको छ । सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक आयोजना अन्तर्गत कालोपत्र योजनाको काम अलपत्र परेको हो । आठबिसकोट नगरपालिकाको मुख्य सडकको रुपमा रहेको यो सडक पालिकाकै ‘लाइफलाइन’ मानिन्छ तर वर्षौँ देखि सडक अलपत्र अवस्थामा छ ।
कालोपत्र आयोजनाको ठेक्का एमएस पिएस जियसएचसी जेभी कपनले वि. स.२०७८ जेठ ३ गते लिएको थियो । ठेकेदारको अटेरीले ४ वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयबासी सास्ती पाएका छन् । आठबिसकोट नगरपालिका-११ चिसापानी देखि पालिकाको केन्द्र राडीबजार सम्म ८ किलोमिटर सहित चिसापानी , राडी नदुवा मुसिकोट माछिमी सडक आयोजना अन्तर्गत सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय चौरजहारी विच ३३ करोड ४८ लाख ८९ हजार ८७३ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको छ ।
सम्झौता अनुसार निर्माण कम्पनीले २०८२ जेठ २० गते भित्र काम सम्पन्न गर्नुपर्ने छ । तर उक्त सडकमा अहिले सम्म काम नभएको जनाईएको छ । पुर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र बिसीका अनुसार ठेकेदार कम्पनीलाई छिटो काम गर्न ताकेता गरिएको र कम्पनीले अटेरी गर्दै आएको बताए । कालोपत्रेका लागि सडकमा थुपारिएको माटोले थप जोखिम निम्त्याएको स्थानीयको गुनासो छ । स्थानीय जसिराम केसी भन्छन, सडकमै पौडी खेल्ने खालका तालहरु छन्। जथाभावी नहरको पानी छोडिएको छ । धुलोको त झन कुरै नगरम । धुलो उडेकाले गाडी चलाउन समेत समस्या पर्छ। सम्बन्धित निकायले वेवास्ता गर्दा सास्तीपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको केसीले बताए । स्थानीय सरकारले सडक स्तरोन्नति र कालोपत्रमा भन्दा बढी ध्यान ट्य्राक खोल्ने तिर जाँदा समस्या थपिदैं गएको केसीको भनाई छ ।
सडक निर्माणको काम नहुँदा यात्रु र स्थानीयले सास्ती बेहोर्दै आएका छन् । सडक वेवारिस्से अवस्थामा छोड्दा दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समेत समस्या हुने गरेको वडा नम्वर ११ का वडाअध्यक्ष प्रेम पुनले बताए । सडकमा थुपारिएको माटोले धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ । उनले भने, ‘‘सडकको धुलो र धुवाँ उडेर घरको भान्छामा पस्छ । धुलोकै कारण स्वास्थ्यमा समस्या आउने गरेको छ’’।
पूर्वाधार विकास कार्यालय चौरहजारीका साइट इन्चार्ज इन्जिनियर अशोक कुमार यादवका अनुसार निर्माण व्यवसायीले सम्झौता मितिमै अटेर गरेर काम नगरेको बताए । कार्यालयले पटकपटक ताकेता गरिरहेको यादवले उज्यालोपाटीलाई जानकारी दिए । कर्णाली प्रदेश सरकारले अघिल्लो वर्ष चिसापानी, राडी, नुवाकोट, नदुवा, मुसीकोट सडक निर्माणलाई निरन्तरता दिन ३२ करोड विनियोजन गरेको थियो । जाजरकोट देखि चिसापानी सम्म भेरीकरिडोर भित्र पर्ने ११ किलोमिटर सडक कालोपत्रे छ । तर चिसापानी देखि राडीबजार सम्मको सडक भने ट्याक खुलेदेखि नै अलपत्र अवस्थामा छ ।