तनहुँ । बिहीबार रातिदेखि परेको अविरल वर्षाले व्यास नगरपालिका–१ स्थित भादगाउँ खिरखादी खानेपानी आयोजनाअन्तर्गत मुहानमा मुख्य पाइपमा क्षति पुगेको छ । निरन्तरको वर्षापछि आएको बाढीले व्यास–१३ जब्दारीस्थित मुहान नजिकको मुख्य पाइपलाइनमा क्षति पुगेपछि पानी वितरण प्रभावित भएको हो ।
पाइपलाइन मर्मत भइरहेकाले केही दिन पानी वितरणमा समस्या आउने खानेपानी उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले बताए । उनले भने, ‘वर्षाका बेला यसअघि पनि यहाँ बाढीपहिरोको समस्या थियो । मुख्य पाइपमा ठूलो क्षति पुगेकाले अझै केही दिन पानी वितरण गर्न सकिँदैन ।’
गत भदौ पहिलो सातापनि वर्षासँगैको बाढीपहिरोले व्यास–१३ निउरोघारीमा पाइपलाइन क्षति हुँदा एक सातासम्म पानी वितरण प्रभावित भएको थियो । हड्खलेले भने, ‘पहिरोले यहाँ बेलाबेलामा दुःख दिने गरेको छ । प्रत्येक महिनाजसो बाढीपहिरोले पाइपलाइन क्षति भइरहेको छ ।’
उक्त खानेपानी संस्थाले व्यास–१३ का दुई हजार छ सय ८० उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । उपभोक्ता समितिले १३ किलोमिटर दूरीमा पर्ने खिरखाँदी मुहानबाट पानी ल्याएर वितरण गर्दै आएको हो । समितिले चार वटा मुहानबाट प्रति सेकेण्ड कुल २० लिटर पानी सङ्कलन गरी उपभोक्तालाई वितरण गरिरहेको जनाएको छ ।
आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।