रुकुम पश्चिम् । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान करिब साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६, दामाचौरस्थित खोली बगरबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना रहेका छन्।
फरार कैदीको खोजीका लागि परिचालित प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। चौरजहारी बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको नेतृत्वमा पाँच सदस्यीय टोली खटिएको थियो।
डोल्पा कारागारबाट आठ जना कैदी सुरुङ खनेर फरार भएकोमा दुई जना पक्राउ परेसँगै अझै छ जना फरार रहेका छन्।