सोमबार देखि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक काउन्टडाउन सुरु भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा आयोजित विशेष कार्यक्रममा संघीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही, सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालल, सदस्य सचिव रविन्द्र चन्द, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्यहरू लगायत जनप्रतिनिधि, खेलकुद क्षेत्रका पदाधिकारी, खेलाडी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
आगामी मङ्सिर १६ गतेदेखि कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि अब २९ दिन मात्र बाँकी छन्। यससँगै प्रतियोगिताको तयारी, व्यवस्थापन र प्रचारप्रसारका गतिविधिले पनि थप गति लिएका छन्।
दशौँ राष्ट्रिय खेलकुदलाई राष्ट्रियस्तरमा चिनाउने र प्रतियोगिताबारे आम नागरिकमा जानकारी तथा उत्साह अभिवृद्धि गर्ने उद्देश्यले केही दिनअघि प्रतियोगितासम्बन्धी स्मारिका पनि वितरण गरिएको थियो। सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको सहभागितामा ३२ खेल विधामा प्रतिस्पर्धा हुने यस प्रतियोगिताले देशभरका प्रतिभावान् खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने राष्ट्रिय मञ्च प्रदान गर्नेछ।