रुकुम पश्चिम । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मुसिकोट नगरपालिका–५ कोलटाकुरा निवासी २८ वर्षीय सन्दिप अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।
विशेष अदालत बबरमहल काठमाडौंको मिति २०७६/१२/०५ गतेको फैसला आदेशअनुसार भ्रष्टाचार मुद्दामा अधिकारीलाई तीन दिन कैद सजाय तोकिएको थियो।
फैसला कार्यान्वयन हुन बाँकी रहेपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले २०८३ कात्तिक १६ गते दिउँसो करिब १ बजे मुसिकोट नगरपालिका–१ पातुखोलाबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका अधिकारीलाई कैद तथा जरिवाना भुक्तानीका लागि सोही दिन रुकुम जिल्ला अदालत मुसिकोटमा पेस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले अदालतको फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ।