रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले प्लास्टिक तथा कृत्रिम (रेजिन) फूल र मालाको आयात, बिक्री वितरण, भण्डारण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
नगरपालिकाले मिति २०८३ कात्तिक १३ गते सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्र प्लास्टिक, पोलिस्टर तथा अन्य रासायनिक पदार्थबाट निर्मित कृत्रिम फूल, गुच्छा र मालाको आयात, भण्डारण, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको जनाएको हो।
नगरपालिकाका अनुसार वातावरण प्रदूषण नियन्त्रण गर्नुका साथै स्थानीय फूल व्यवसायी तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
जारी सूचनामा आगामी तिहार, छठ लगायतका चाडपर्व तथा नगरपालिकाभित्र आयोजना हुने सरकारी, गैरसरकारी, सामाजिक र धार्मिक औपचारिक कार्यक्रममा समेत कृत्रिम मालाको प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।
नगरपालिकाले स्थानीय कृषकले उत्पादन गरेका सयपत्री, मखमली, गोदावरीलगायत प्राकृतिक फूलको प्रयोग गर्न आग्रह गरेको छ। यसबाट स्थानीय उत्पादनको प्रवर्द्धन हुनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने नगरपालिकाको विश्वास छ।
निर्णयको उल्लङ्घन गरी प्लास्टिक तथा कृत्रिम मालाको आयात, बिक्री वा भण्डारण गरेको पाइएमा संयुक्त अनुगमन टोलीमार्फत सामान जफत गरिने र प्रचलित वातावरण संरक्षण ऐन तथा स्थानीय कानुनबमोजिम कारबाही र जरिवाना गरिने सूचनामा उल्लेख छ।
नगरपालिकाले स्वच्छ, हराभरा र प्रदूषणमुक्त वातावरण निर्माणका लागि सम्पूर्ण व्यवसायी, संघसंस्था तथा सर्वसाधारणलाई उक्त निर्णय पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।