काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको झडपपछि स्थिति थप तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सोमबार सुनसरीका विभिन्न स्थानमा प्रदर्शन चर्किएको हो ।
दुई समूहबीचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर १० जना घाइते भएका थिए । घाइतेमध्ये २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य ९ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षालाई मध्यनजर गर्दै कप्तानगन्जसहित पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो । तर, कर्फ्युकै बीच सोमबार बिहानैदेखि स्थानीयले विरोध प्रदर्शन सुरु गरेका छन् ।
कप्तानगन्ज क्षेत्र अहिले तनावग्रस्त बनेको छ । इनरुवा बजार र लौकही क्षेत्रमा समेत प्रदर्शन जारी छ । प्रदर्शनकारीले इनरुवा बजार बन्द गराउँदै पूर्व–पश्चिम राजमार्गमा टायर बालेर यातायात अवरुद्ध गरेका छन् ।
सुनसरी प्रहरीका अनुसार प्रदर्शनकारीले सडक अवरुद्ध गरेपछि राजमार्ग खण्डमा सवारी आवागमन प्रभावित भएको छ । झडप र प्रहरी कारबाहीका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन कप्तानगन्ज क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिएको छ । प्रशासनले सर्वसाधारणलाई घर बाहिर ननिस्कन र कुनै पनि सभा–जुलुस नगर्न आग्रह गरेको छ ।