नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् ।
देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितलाई पाँच वर्षका लागि निष्कासनको निर्णय गरे लगत्तै थापाले पार्टीको आधिकारीकनै विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन् ।
‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ । असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हो नि,’ गगनले भने, ‘अब हामी अल्मलिनुपर्ने अवस्था रहेन । विशेष महाधिवेशनको मनोनयनको काम सकियो । नामावलीहरू सार्वजनिक हुँदै छ । संवादका लागि प्रयास भएका थिए सफल भएनन् ।’
अब काँग्रेसको आधिकारिकताबारे थापाले थपे, ‘यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदै छ । यही नै काँग्रेस हो ।’