नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेको दाबी दोहोर्याएका छन् ।
दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले यही कार्यक्रममा सरिक हुन आइतबार भारत गएका थिए । ‘२६ गते राति म र कमरेड माधव कुमार नेपाल, हामी दुईजनालाई राष्ट्रपति निवासमा बोलाएपछि रातभर धेरै मिहेनत गरेर संशयको वातावरणलाई निवारण गर्ने र देशलाई विस्तारै सामान्य अवस्थामा फर्काउने काम गर्यौं,’ सोमबार कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘अन्ततः अन्तरिम सरकार गठन गर्ने निर्णय भयो ।
त्यतिबेला पनि कामचलाउ प्रधानमन्त्री केपी ओली नै थिए, र उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने समझदारी भयो ।’ प्रचण्डका अनुसार यसपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा संसद् विघटन भएको हो ।
‘तर संसद् विघटन गर्ने सहमति भएको थिएन, सबैको आ–आफ्ना सोच थियो । राष्ट्रपतिले परिस्थितिलाई हेरेर सुशीला कार्कीको सरकारको सिफारिसमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्ने काम गर्नुभयो,’ प्रचण्डले थपे ।