रुकुम पूर्वमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको भुमे गाउँपालिका–१ मध्यपहाडी लोकमार्गमा पर्ने स्यावाल भन्ने ठाउँमा शनिबार बेलुका साढे ५ बजेतिर रा १ ह ६७९७ नम्बरको अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार अटोमा सवार थप ५ जना घाइते भएका छन्। लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको अटो सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ । अटो चालक भुमे–१ का स्थानीय २९ वर्षका जोते घर्ति घटना पछि फरार भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा भूमे गाउँपालिकाका २५ वर्षीया सबिता घर्ति र ३० वर्षीया रेजिना घर्ति रहेका छन्। उनीहरुको उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको बताएको छ। त्यस्तै अटो दुर्घटनामा परेर ३ वर्षीय सक्षम घर्ति,२६ वर्षीय प्रतिक्षा बुढा, उनको ११ महिनाका छोरा सुभम बुढा, २ वर्षीया समृद्धि पुन र २८ वर्षीय ब्युटी पुन घाइते भएका छन्। उनीहरुको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।