लण्डन । विश्वकप विजेता स्पेनले बेल्जियमलाई ६-२ ले पराजित गर्दै महिला युरोपियन च्याम्पियनसिप (युरो २०२५) को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । जितसँगै स्पेनले युरोमा पहिलोपटक लगातार दुई खेल जित्ने इतिहास बनाएको हो । पहिलो खेलमा पोर्चुगललाई ५-० ले हराएको स्पेनले दुई खेलमा कुल ११ गोल गरिसकेको छ । दुईपटककी बालोन डी’ओर विजेता एलेक्सिया पुटेलासले बेल्जियमविरुद्ध दुई गोल गर्दै लगातार दोस्रोपटक ‘प्लेयर अफ द म्याच’ बन्न सफल हुनुभयो ।
स्पेनले समूह ‘बी’को शीर्ष स्थानमा ६ अंकसहित कब्जा जमाएको छ । इटाली दोस्रो स्थानमा चार अंकसहित छ भने पोर्चुगलको एक अंक छ । बेल्जियम अंकविहीन छ र प्रतियोगिताबाट बाहिरिसकेको छ । समूहका शीर्ष दुई टोली क्वाटरफाइनल पुग्नेछन् । अब स्पेनले शुक्रबार इटालीसँग अन्तिम खेल खेल्नेछ भने पोर्चुगल र बेल्जियमबीच अर्को खेल हुनेछ । खेलको सुरुवातदेखि नै स्पेनले बेल्जियमको पोस्टमा दबाब बनाएको थियो ।
यसैगरी, अग्रता जोगाउन नसक्दा इटाली च्याम्पियनसिपमा पोर्चुगलसँग १-१ को बराबरीमा रोकिएको छ । यो नतिजासँगै दुई खेलमा चार अंक जोडेको इटाली समूह ‘बी’ को दोस्रो स्थानमा छ । समान खेलबाट पहिलो अंक जोडेको पोर्चुगल तेस्रो स्थानमा छ । पहिलो खेलमा स्पेनले बेल्जियमलाई पराजित गर्दा पोर्चुगलले स्पेनसँग हार बेहोरेको थियो । एजेन्सी ।