रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा बजार अनुगमनलाई तिव्रता दिइएको छ । नगरपालिकाको नियमित बजार अनुगमन अन्तर्गत मुख्य प्राथमिकताका साथ विद्यालय क्षेत्रमा सञ्चालित पसलहरुमा छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा वडा नम्वर-११ स्थित नेपाल राष्ट्रिय मावि गत्तसैना को गेटमै विद्यालय हाताबाटै मदिरा एवं सुर्तीजन्य वस्तु बिक्री भइरहेको पाइएको छ । 
आठबिसकोट नगरपालिकाको अनुगमन टोलिले मंगलबार बिहान गरेको अनुगमनमा विद्यालय गेटमै अबैध रुपमा मदिरा र सुर्तीजन्य पदार्थको विक्रिवितरण गर्ने पसलबाट ठुलो मात्रामा मदिरा जफत गरेको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले जानकारी दिए । गौतमका अनुसार आठबिसकोट-११ -मा रहेका बिधालय क्षेत्र वा सार्वजनिक स्थलहरुको नजिकै अनुमति बिनै मदिरा बिक्रि गर्ने ७ वटा पसलहरुबाट मदिरा जफत सहित जरिवाना गरिएको बताए । 
विधालय गेटमै रहेको प्रेम जङ शाहको पसलबाट ८ वटा वियर, २ पेटी ब्रीक्स रक्सी, रेडह्याक ७ वटा, १ पेटी १२ वटा ग्रीन सक्सी, र म्याद गुज्रीएका सामन सहित अवैध मदिरा बिक्रि तथा पसल दर्ता नगरे बापत १५ हजार रुपैयाँ जरिवाना गरिएको हो । सोही स्कुलमा सञ्चालित बहिरा तथा सुस्त श्रवन केन्द्र गत्तसैनाका विव्यस अध्यक्ष समेत रहेका शाहले बिधालयको गेटमै पसल नै दर्ता नगरी अवैध मदिरा विक्रिवितरण गरेको पाईएको हो । प्रेम जङ शाह भन्छन, बिधालय नजिकै मदिरा बेच्न पाईदैन भन्ने थाहा थिएन्। पुर्व सुचना पनि भएन । सोही बिधालयका प्रधानाध्यापक तुल बहादुर आग्री भन्छन, नगरपालिकाले बिधालय क्षेत्रको २०० मिटर भित्र मदिरा नबेच्नु भनि परिपत्र गराएपछी हामीले सार्वजनिक सुचना सहित उहाँलाई पटक पटक भनेका थियौँ । तर उहाँले अटेरी गर्दै आउनु भएको थियो । शाहका २ वटा पसल छन्। २ वटै दर्ता छैनन्। उनका छोरा मोहनजङ शाहको नाममा पसल दर्ता भएको भनिएता पनी हाल सम्म पसल दर्ता नभएको अनुगमन टोलीले बताएको छ ।

त्यस्तै सोही ठाउँमा रहेको मनिषा मल्ल शाहको पसलबाट पनी मदिरा सहित मालसमान जफत गरिएको छ । सोफी रक्सी सहित १५ हजार रुपैयाँ जरिवाना गरिएको हो । सिता सिङको पसल बिनादर्ता सञ्चालनमा रहेकोले उनलाई जरिवाना स्वरुप २ हजार रुपैयाँ र म्याद गुज्रीएका सामान जफत गरिएको हो । वडा नम्वर-११ स्थित धुर्सेनीमा रहेको दुर्गा स्टोरबाट १ पेटी ६ वटा वियर, बल्याकज्याक साढे २ पेटी, ब्रीक्स ७ र ज्याक ७ वटा जफत गरिएको हो । त्यस्तै ओलि स्टोर बाट बियर २ पेटी ६ वटा , डाइमन्ड, बिक्स १/१ पेटी, स्टिक १ पेटी र नैनसरी पुरीको पसलबाट क्वाटर १ पेटी २२ वटा जफत गरिएको नगर अनुगमन टोलिले बताएको छ ।
यस अघि नगरपालिकाले सार्वजनिक स्थान र बिधालय आसपासमा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रिवितरण गर्न नपाईने भनी सार्वजनिक जानकारी गराएको थियो । सुचनालाई वेवास्ता गर्दै अनुगमनका क्रममा मदिरा विक्रिवितरण गरिरहेको पाइएको छ । नगरपालिकाले बजार अनुगमन गर्दै ठुलो मात्रामा बिक्रीको लागि राखिएको सुर्तीजन्य तथा मदिराजन्य पदार्थ जफत पनि गरिएको छ । पछिल्लो समय आठबिसकोट नगरपालिकाले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागि परेको छ। 
विद्यार्थीहरूलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि उक्त अभियानको थालनी गरेको अनुगमन समितिका संयोजक एवम् नगर उपप्रमुख धन कुमारी शाहीले बताईन । विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि नगरपालिकाले उक्त अभियानको सुरुवात गरेको र विद्यालय वरपर रहेका पसलहरूमा सुर्तीजन्य पदार्थ भए नभएका बारेमा अनुगमन भैरहेको शाहीले बताईन्। उनले भनिन, “हामीले पहिलो चरणमा विद्यालय वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ नराख्न आग्रह गरेका छौँ, हाम्रो आग्रहलाई बेवास्ता गर्नेलाई थप कानुनी दायरामा ल्याउनेछौँ।”
विद्यालय वरपरका केही पसलमा अनुगमनका क्रममा भेटिएका मदिरा, चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ अनुगमन समितिले नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ। बरिष्ठ शिक्षा अधिकृत इन्द्र बहादुर बिष्ट भन्छन, सुर्तीजन्य तथा मदिराको प्रयोगले ससाना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको २०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको छ । बिष्टले भने , “सुर्तीजन्य पदार्थको प्रयोगले ससाना विद्यार्थीमा नराम्रो असर पर्छ, त्यसैले विद्यालय वरपर उक्त पदार्थ बेच्ने नगरौँ, अभिभावक पनि सचेत हुनु जरुरी छ।”

सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दा मुनिका बालबालिकालाई बिक्री वितरण नगर्न समेत आग्रह गरिएको छ । त्यस्तै दर्ता नगरी सञ्चालनमा आइरेहका ७ वटा पसलबाट करिब १ लाख ४० हजार बढीको मदिरा जफत गरिएको उधोग शाखा प्रमुख त्रीपुरा चन्दले जानकारी दिईन्। उनका अनुसार दर्ता नविकरण नगरेका र अवैध रुपमा बिधालय र सार्वजनिक संस्था आसपासमा मदिरा बिक्रि गरिरहेका पसलहरुबाट ३२ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस अघि आठबिसकोट -८ दाजेमा पनि ठुलो मात्रामा अबैध मदिरा जफत गरिएको थियो । शिक्षण संस्थाको नजिकै रहेको मदिरा पसलहरूले बालबालिका र किशोरहरूमा नकारात्मक असर पार्न थालेको अभिभावकहरू बताउँछन्।