काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव भेटिएको छ । त्यस्तै गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार २३० जनाको पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेका शवबाट डिएनए नमुना संकलन गरी सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हालसम्म मृतक तथा उनीहरूका आफन्त गरी ३ हजार १३२ जनाको डिएनए नमुना संकलन गरिएको छ । पहिचान हुन बाँकी १ हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ ।
बाढीमा परी ४ हजार ८९ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ ।