काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढेर नयाँ उचाइ बनाएको एक सातामै सुनको भाउमा उच्च दरको गिरावट आएको छ। सुनका अल्पकालीन लगानीकर्ताले नाफा ‘बुक’ गर्ने हतारो गरेसँगै सुनको मूल्यमा उच्च दरको गिरावट आएको हो। सोमबार एक ट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य ४,३८१ डलरसम्म पुगेको थियो। मंगलबार ६.३ प्रतिशत घटेर ४,०८२ डलरमा झरेको ‘द फाइनान्सियल टाइम्स’ ले लेखेको छ। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।
धेरै विश्लेषकले यसलाई ‘ढिलो आएको तर आवश्यक सुधार’ का रूपमा व्याख्या गरेका छन्। व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको लगानीको सुरक्षित उपकरणका रूपमा सुन बनेपछि भाउ पनि निरन्तर उकालो लागिरहेको थियो।
तर, पछिल्लो एक सातामा मात्रै सुनको भाउ ७ प्रतिशतभन्दा धेरैले घटेको छ। एमकेएस पाम्पकी विश्लेषक निकी शिल्सलका अनुसार अत्यधिक खरिदका कारण सुनको मूल्य पाउरोटीझैं फुलेको थियो। मूल्य वृद्धिको यो क्रम अन्त्यतिर पुगेको संकेत हुनसक्ने उनले बताएकी छन्। यस वर्ष सुनको मूल्यमा भएको ऐतिहासिक वृद्धि केही सातायता झन् तीव्र भएको थियो। दुई महिनामै २५ प्रतिशतसम्म मूल्य बढेको थियो