रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलघारीमा सुनकोसी नदीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिम मोलेर आवतजावत गरिरहेका छन् । गत असोज महिनामा आएको बाढीले क्षति पुर्याएको राकाथुमलाई सिन्धुलीको बिपी राजमार्गसँग जोड्ने झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छैन ।
सुनकोसी नदीको सो झोलुङ्गे पुलमा गत असोज महिनामा आएको बाढीले क्षति पुर्याएको थियो । बाढीले पुलका स्ल्याप बगाएर लगेपछि झोलुङ्गे पुलमा बाँस राखेर अस्थायी रूपमा सञ्चालन गरिएको थियो । तत्कालको लागि अस्थायी रूपमा बाँस हालेर पुल सञ्चालनमा ल्याइएको भए पनि अझै मर्मत हुन नसकेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
पुलका राखिएका बाँसहरू अहिले एक ठाउँमा जम्मा भएका छन् । पुलको ठाउँ ठाउँमा ठूलाठूला भ्वाङहरु छन् । जसले गर्दा मानिसहरूका गोडा पसेर पुलबाटै झर्ने जोखिम बढेको छ ।स्थानीय गणेशबहादुर श्रेष्ठका अनुसार पुल धराप थापे जस्तो भएको छ । सो पुल भएर बेलघारीका २० जना भन्दा बढी विद्यार्थी दैनिक सिन्धुलीको सुनकोसी गाउँपालिका–३ गुठबजारमा रहेको विद्यालयमा पढ्न जाने गर्दछन् । विद्यार्थीहरू दैनिक यही पुलबाट जोखिम मोलेर आवतजावत गर्ने उनले बताए ।