रुकुम पश्चिम । उपनिर्वाचन अन्तर्गत कर्णालीमा सबै मत परिणाम सार्वजनिक भएको छ । कर्णालीमा एक नगरउपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो ।
यहाँ ८ पदका लागि ४३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रबिच मुख्य प्रतिस्पर्धा भयो ।
०७९ मा कांग्रेसले जितेका ३, माओवादीले जितेको ३ र एमालेले जितेका दुई ठाउँमा उपनिर्वाचन भएको थियो । जसमध्ये यसपटक माओवादीले एक नगर उपप्रमुख, एक गाउँपालिका उपाध्यक्ष र एक वडाअध्यक्ष पदमा जितेको छ । देशैभरको उपनिर्वाचनमा दोस्रो बनेको माओवादी कर्णालीमा भने पहिलो बनेको छ । त्यस्तै नेपाली काँग्रेसले दुई वडाअध्यक्ष जितेको छ । भने एमालेले एक गाउँपालिका अध्यक्ष सहित एक वडा जितेको छ । त्यस्तै नेपाल किसान मजदुर पार्टीले एउटा जितेको छ ।
जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र डोल्पाको त्रीपुरा सुन्दरी-५ मा माओवादीले जितेको छ । भने रुकुम पश्चिमको सानीभेरी-५ र जाजरकोटको कुशे गाउँपालिका-७ मा नेपाली काँग्रेसले जितेको छ । त्यस्तै दैलेखको महाबु गाउँपालिका र दुल्लु नगरपालिका-१३ मा एमालेले जितेको छ । कालिकोटको तिलागुफा गाउँपालिकाको वडाअध्यक्षमा भने नेपाल किसान मजदुरपार्टीले जितेको छ ।