म्याग्दी । म्याग्दीको बेनी नगरपालिका—९ घतानका ६० वर्षीय दिलबहादुर दमाईं र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन् ।
गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पुर्याउन डाँडा उक्लिहाल्छन् । सदरमुकामसँगै जोडिएकाले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ ।
उनी विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कटुवाल कराउँछन् । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्याउने जिम्मा उनकै छ । म्याग्दीका ६ वटै स्थानीय तहका प्रायः सबै गाउँमा अझै पनि कटुवाल प्रथा कायमै छ । सञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीकरण गर्दै लैजानेतर्फ भने कसैको पनि ध्यान पुग्न नसकेको पत्रकार हरिकृष्ण गौतमको भनाइ छ ।
यसरी परम्परागत प्रथा जोगाउन महत्त्वपूर्ण भूमिका खेले पनि उनीहरूको पारिश्रमिक भने न्यून छ । बगरफाँटमा एक सय ९७ घरधुरी छन् । तीमध्ये बसाइँसराइका कारण कैयौँ घर खाली छन्, कतिपय घरमा गाउँ बाहिरबाट आएका मानिस भाडामा बसेका छन् ।
कटुवालको सहजताका लागि हाते—माइकको व्यवस्था गर्नसमेत माग गरिएको छ । “बेनीसहित सबै गाउँपालिकामा अझै पनि कटुवाल प्रथा कायम नै छ । त्यसैले सूचना प्रवाहमा सहजता ल्याउन प्रविधि सहयोग र यस काममा लागेका हामीहरूको जीविकोपार्जनलाई ध्यानमा राखेर आवश्यक काम गर्न हाम्रो आग्रह छ”, कटुवाल विकले भने ।