काठमाडौँ । वर्षाको हिलोमैलो सकिएर जमिन ओभानो हुन थालेसँगै मौसमले नै संकेत गर्छ – अब दसैँ आउने बेला भयो । यसपालि पनि असोज लागेसँगै मौसमले दसैँको सुरसार चल्दै थियो, अपर्झट बेमौसमको बाढीले धेरैका घरबार उजाड्यो, धनजनको ठुलो क्षति भयो । तैपनि बाढीपहिरो छल्दै नेपालीका घरआँगनमा दसैँ प्रवेश गर्न थालिसकेको छ ।
यो मौसम नै त्यस्तै हो जसका कारण एक प्रकारले दसैँको सुगन्ध छर्न थालेको छ । देशको सबैभन्दा ठूलो यो पर्वले सम्पूर्ण नेपालीलाई एकैपटक स्पर्श गरिसकेको छ । राजधानी बस्नेहरू कुम्लो कुटुरो बाँधेर गाउँको साइत गरिसकेका छन् भलै यस वर्ष बाढीका कारण अन्य वर्षभन्दा यात्रा कष्टकर छ । बाटो घाटो र यातायातको प्रतिकूल अवस्थामा पनि यस वर्ष मंगलबारसम्म १३ लाखभन्दा बढीले हवाइ र सडक यातायातका साधनबाट उपत्यका छोडिसकेका छन् । कोभिडमा ३ वर्ष बिथोलिएको दसैँ बिस्तारै लयमा आउँदै थियो अहिले बाढीले बिथोले पनि मानिसहरू ओहोरदोहोर पातलिएको छैन ।
खानपिन र भेटघाट अनि पिङ खेल्ने आदि दसैँको रमाइलो पाटो हो र आजभोलि यसैको प्रभाव बढी देखिन्छ । अर्कोतिर भने दसँैको सांस्कृतिक, प्राकृतिक अनि परम्परागत संस्कारको लामो साइनो गाँसिएको छ । शक्तिपीठहरूमा पूजाआजा र चण्डीपाठ गर्दा त्यो बीचमा भएका अनि आउँदा संकट पनि सबै नाश भएर जान्छन् भन्ने पौराणिक मान्यता छ । हिन्दू परम्परामा मानिँदै आएका तेत्तिसकोटी देवीदेवता मध्ये दसैँमा खासगरी शक्तिपीठ अर्थात देवीहरूको पूजा हुन्छ । त्यो भनेको दसैँ असत्यमाथि सत्यको विजयोत्सवका रूपमा पनि लिइन्छ । यस अर्थमा दसैँलाई शक्ति उपासनाको पर्वका रूपमा लिन सकिन्छ ।
दसैँका आ–आफ्नै मौलिकता अनि धार्मिक मान्यता छन् । तर, अहिले धार्मिकभन्दा पनि सामाजिक उत्सवको रूपमा पनि यसलाई लिन थालिएको छ । वास्तवमा धर्म अनि परम्पराभन्दा टाढाबाट हेर्ने हो भने पनि सामाजिक उत्सवको यो भन्दा ठूलो अर्को चाड र अवसर हामीकहाँ छैन । अनेक विविधताले भरिएको नेपालमा हरेक पर्व मनाउने सबैका आ–आफ्नै तरिका छन् । जहाँ नेपाली समाजको विविधताबीच एकता पनि झल्किन्छ । हरेक पर्वले सामाजिक र सांस्कृतिकसँगै एउटा मानवीय सन्देश पनि दिइरहेका हुन्छन् । दसैँ पनि त्यस्तै हो । दसैँ मान्ने तरिका फरक छन्, कसैले सेतो टीका लगाउँछन् कसैले रातो लगाउँछन् कसैले मासु खान्छन् कसैले खाँदैनन् । यद्यपि सबैभन्दा मासु खपत हुने चाड दसैँ नै हो ।
दसैँको लामो परम्परा र संस्कृति छ । धार्मिक किंबदन्तीअनुसार देवीले दैत्यहरूको नाश वा बध गरेपछि त्यसलाई उत्सवका रूपमा मनाउने क्रममा दसैँ स्थापित भएको मानिन्छ । त्यसैलाई विजयादशमी पनि भन्ने गरिन्छ । अनि कतिपय शास्त्रमा रामले देवीको पूजा गरेपछि रावणमाथि विजय प्राप्त गरेको भन्ने किंवदन्ती र मान्यताहरू छन् ।
दसैँमा टीका, जमरा लगाउने अनि आफूभन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ । दसँैका बेला आफूभन्दा ठूला, मान्यजन अनि अग्रज आफन्त दसैँमा टीका लगाउँदा सामाजिक र पारिवारिक सद्भाव बढ्छ । कतिपय बिछोड भएका परिवारको पुनर्मिलन पनि दसैँले गराउने गरेको छ । यस अर्थमा पनि दसैँको महत्व बढ्दै गएको छ ।
अर्काेतिर दसँैको आफ्नै अर्थतन्त्र पनि छ । सबैभन्दा धेरै आर्थिक गतिविधि यही बेला बढी चलायमान हुन्छन् । यसबेला बजार पनि चलायमान हुन्छ । नयाँ नयाँ सामान भित्र्याउने अनि किनमेलका लागि यो पर्वले राज्यको अर्थबजारलाई पनि गतिशील बनाइरहेको हुन्छ । खेतीपाती सकेर यो समयमा हरेक किसानले आनन्दपूर्वक दसँै मनाउने गर्छन् । टाढाटाढा रहेका आफन्त अनि परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर खुसी र आत्मीयता साट्ने यो पर्वको आफ्नै सामाजिक मान्यता पनि । अनेक संस्कृतिले भरिपूर्ण हाम्रो देशमा यस्ता हरेक पर्वले सामाजिक सद्भाव, भ्रातृत्व अनि हरेक समुदाय बीचको सामाजिक सद्भावलाई जोड्न महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । समाजलाई अन्तरघुलित बनाउन सघाइरहेका हुन्छन् । त्यसैले नेपालीहरूको महत्वपूर्ण चाड दसैँ आफैँमा धार्मिक र सांस्कृतिक पर्व त हो नै, त्यो सँगसँगै दसैँ एउटा परिवार, समाज मात्रै नभई सिंगो राष्ट्रका लागि सामाजिक सद्भाव र एकताका लागि महत्वपूर्व अवसर सिर्जना गर्ने चाड पनि मानिन्छ ।
घटस्थापनादेखि सुरु हुन्छ दसैँ
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व बडादसँै सुरु हुन्छ । शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजाकोठामा जौँ, मकै आदि अन्नको जमरा राखिन्छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने यो पर्वको १५ दिनको अवधिलाई दुर्गा पक्ष पनि भनिन्छ ।
घटस्थापनाका दिन पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । पूजाकोठा वा दसैँ घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ ।
जौँको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँग समृद्धिको प्रतीक पहेँलो जमरा पनि लगाइन्छ । जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । कुल परम्पराअनुसार कतिपयले मकै आदि अन्न पनि जौँसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा प्रयोग गरिन्छ ।
महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गादेवीका ३ वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका ९ वटा रूपको दुर्गा पक्षका ९ दिनमा प्रत्येक दिन विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।
दसैँको टीका लगाउँदा दिइने आशीर्वाद
दसैँमा पुरुष र महिलालाई दिने आशीर्वचन छुट्टाछुट्टै छन् । टिका लगाउँदा पुरुषलाई दिने आशीर्वाद यस्तो छ ः–
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
सौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
अर्थात् दोणाचार्यका छोरा अश्वस्थामा (अष्ठ चिरञ्जीवी मध्येका एक) को जस्तो आयु, राजा दशरथको जस्तो धन सम्पत्ति, रामचन्द्रको जस्तो शत्रु नाश गर्ने शक्ति, नुहुष राजाको जस्तो ऐश्वर्य, पवनको जस्तो गति, दुर्योधनको जस्तो मनसम्मान, भीष्मको जस्तो पराक्रम, बलरामको जस्तो शक्ति, युधिष्ठिरको जस्तो सत्यवादी, विदुरको जस्तो ज्ञान–विज्ञान अनि नारायणको अविनाश कीर्ति रहोस् ।
त्यस्तै महिलालाई दिने आशीर्वाद यस्तो छः–
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा, स्वधा नमोस्तुते ।।
नारीलाई देवीशक्तिका रूपमा पूजा गर्ने हाम्रो सनातन परम्परा छ । नारीलाई देवीकै अवतारका रूपमा लिइन्छ । महिलाका लागि टीका, जमरासँगै दिइने यो आशीर्वादको अर्थ नारीलाई देवीको शक्तिको रूपमा मानिएको छ ।