रसुवा । चीनसँगको सीमा क्षेत्रमा भोटेकोसी नदी थुनिएर बनेको ताल फुटेको खबर आएपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार चीनतर्फ छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ठूलो ताल फुटेको जानकारी प्राप्त भएको हो। शुक्रबार बिहान प्राप्त सूचनापछि गाउँपालिकाले स्थानीयवासीलाई फोन तथा सन्देशमार्फत सचेत गराउन थालेको अध्यक्ष तामाङले बताए।
यसअघि विज्ञहरूले उक्त क्षेत्रमा बनेको तालमा कम्तीमा २० लाख घनमिटर पानी जम्मा भएको हुनसक्ने अनुमान गरेका थिए। हाल भोटेकोसी नदी आसपासको अवस्था सामान्य रहे पनि थप सूचना प्राप्त हुने क्रम जारी रहेको जनाइएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले भोटेकोसी नदी आसपासका बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नदीमा पानीको बहाव बढेको देखिएमा तत्काल सुरक्षित तथा अग्लो स्थानतर्फ सर्न गाउँपालिकाले अनुरोध गरेको छ। सम्भावित विपद्का लागि उद्धार तथा राहत टोलीलाई समेत तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ।