नुवाकोटको पिपलटारका २४ वर्षीय विवेक कुमाल बाढी आउँदा सेफ्टी ट्याङ्की बनाइरहेका थिए। साथीहरू भागे पनि उनी सेफ्टी ट्याङ्कीभित्रबाट निस्किने बित्तिकै बाढीले बगायो।
बाढीले बगाएपछि उनले बाँचिने आशा मारिसकेका थिए। तर बग्दाबग्दै उनी एउटा रुखमा अड्किए। बल लगाएर त्यहाँबाट उम्किन खोज्दा फेरि बाढीले उनलाई बगायो।
पछि उनी एउटा ढुंगामा बेस्सरी ठोक्किएर अड्किएपछि मात्र उनको उद्धार सम्भव भएको थियो।
हाल उनको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कम्मरमुनिको भाग नचलेका कारण आफू पूर्ण रूपमा निको हुन्छु कि हुँदिन भन्ने ठूलो चिन्ताले उनलाई सताइरहेको छ।