काठमाडौं । नेपाल आयल निगमले आज ग्यास नबाँड्ने भएको छ ।
यसअघि शनिबार र आइतबार जिल्ला प्रशासन कार्यालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट निगमले ग्यास बिक्री वितरण गरेको थियो । निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट नियमित प्रक्रियाअनुसार बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाउँदै आफूलाई पायक पर्ने ग्यास विक्रेताकहाँ सम्पर्क गरी खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
शनिबार र आइतबार अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिएको निगमले जनाएको छ ।
विक्रेताबाट सहजै ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौं र भक्तपुरका १० स्थानबाट विभिन्न कम्पनीको ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो । शनिबार काठमाडौँको टेकु, बबरमहल, चाबहिल, कीर्तिपुर र वसुन्धारामा ग्यास बिक्री वितरण गरेको हो ।
अतिआवश्यक उपभोक्ताका लागि आइतबार टेकु, बूढानीलकण्ठ, कीर्तिपुर, नयाँबजार, तारकेश्वर, चन्द्रागिरि र ठिमीबाट विभिन्न कम्पनीका ग्यास बिक्री गरिएको थियो । सातवटा बिक्री केन्द्रबाट आज नौ हजार ५६८ थान सिलिन्डर बिक्री गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
शनिबार छ हजार ८०२ थान सिलिन्डर बिक्री गरिएको निगमले जनाएको छ ।
पछिल्लो चार महिना आधा सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएकामा गत असार ३१ देखि १४.२ किलो बराबरको ग्यास उपलब्ध गराउन थालिएपछि बजारमा एकाएक ग्यासको अभाव देखिएको थियो ।