जाजरकोटको भेरी नगरपालिका– २, रिसाङमा अविरल वर्षापछि गएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् ।
शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका– २, रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोका कारण घर भत्किएको तथा जोखिममा परेको सूचना पाएपछि उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पहिरोका कारण भेरी नगरपालिका– ३, स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घरमा रहेका पाँच जना परिवारका सदस्य भने आफन्तको घरमा बसेका छन् । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
पहिरोमा भेरी नगरपालिका– २, रिसाङका ६० वर्षीय रामबहादुर शाही घाइते भएका छन् । आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो आउँदा उनको छाती, टाउको र हातमा चोट लागेको थियो । जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि उनलाई शनिबार राति ८:३० बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । सोही स्थानका आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको छ ।
भेरी– २, चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि पहिरोमा घाइते भएकी छन् । शरीरका विभिन्न भागमा चोट लागेकी उनको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि राति ९:१५ बजे थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ । भेरी– १, डौरीकाँडाका ४५ वर्षीय मनवीर चदराको टाउकोमा चोट लागेको छ भने सोही स्थानकी १६ वर्षीया मनिषा विकको शरीरमा चोट लागेको छ । दुवै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । डौरीकाँडाकै ४७ वर्षीया मोतीकला विकको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको पनि स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
भेरी नगरपालिका– २ का करिब ५२ वर्षीय केदार कार्कीको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि उनलाई राति १०:५५ बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । सोही स्थानकी करिब २३ वर्षीया अनिता कार्कीको बायाँ खुट्टामा चोट लागेको छ र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रिसाङकी लक्ष्मी केसीका १० वर्षीय छोरा युनिश शाहीलाई सामान्य चोट लागेको छ भने उनको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सोही स्थानकी ४५ वर्षीया सुन्तली चदराको खुट्टामा चोट लागेको छ, र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
तीन जना सम्पर्कविहीन
पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका– २, फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, सोही वडाको चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ की करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ ।