सुनसरीदेखि सिरहासम्म गोली : अब नागरिकले बाँच्न नपाउने?
देश रगताम्य बन्दा बालेनले किन देखेनन?
अर्जुन बिष्ट
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर गत आइतबार राति एक युवकको ज्यान गयो । त्यसपछि उत्पन्न परिस्थिले अहिले ठुलो रुप लिइरहेको छ । त्यहाँको हटिया क्षेत्रमा दुई समुदाय पक्षधरबीच मेलाको विषयमा विवाद भएको थियो । सोही ठाउँका स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि परिस्थिति नियन्त्रण बाहिर गयो ।
उक्त विवाद दंगामा परिणत हुँदा अहिले सिरहामा तनावग्रस्त अवस्था छ। नेपालमा पछिल्ला केही दिनयता विकसित घटनाक्रमले सुरक्षा अवस्था, सरकारी संयन्त्रको प्रभावकारिता र राजनीतिक नेतृत्वको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको छ। सुनसरीमा भएको गोलीकाण्डको घाउ सेलाउन नपाउँदै आज सिरहाको गोलबजारमा फेरि गोली चल्यो। घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। यससँगै मधेशका विभिन्न जिल्लामा तनाव फैलिएको छ । प्रशासनले कर्फ्यु लगाएको छ र सुरक्षा व्यवस्था कडा बनाइएको छ।
प्रहरीका अनुसार सिरहाको गोलबजारमा भएको झडपमा तनावका क्रममा गोली चलेको हो। तर गोली कसले चलायो भन्ने विषय अझै आधिकारिक रूपमा पुष्टि भएको छैन र अनुसन्धान जारी रहेको जनाइएको छ। यही अनिश्चितताले जनतामा झन् बढी त्रास र अन्योल सिर्जना गरेको छ।
यसअघि सुनसरीको घटनामा पनि गोली चलेर नागरिकको ज्यान गएको थियो। त्यस घटनाले देशभर बहस सिर्जना गरिरहेको अवस्थामा फेरि अर्को जिल्लामा यस्तै प्रकृतिको हिंसात्मक घटना हुनु सामान्य विषय होइन। यसले सुरक्षा निकायको तयारी, गुप्तचर संयन्त्रको प्रभावकारिता र सरकारको संकट व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
गृहमन्त्रीको जिम्मेवारी देशको शान्ति–सुरक्षा हो। तर एकपछि अर्को जिल्लामा तनाव फैलिँदै जाँदा र नागरिकको ज्यान जाँदा सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठ्नु स्वाभाविक हो। यदि राज्यले समयमै तनाव नियन्त्रण गर्न सकेन भने त्यसको राजनीतिक जिम्मेवारीबाट सरकार उम्किन सक्दैन। सामान्य अवस्थामा स्टण्डकै लागि फिल्डमा कुद्ने गृहमन्त्री सुधन गुरुङ यतिबेला बेखबर छन् । सडक देखि संसद सम्म गृहमन्त्री र प्रधानमन्त्रीको मौनता बारे प्रश्न उठिरहेको छ । नागरिक मर्दै गर्दा सरकारको मौनताले गम्भीर आशंका पैदा गरेको छ ।
गोली कसले चलायो,आदेश किन दिईयो भन्ने अनुसन्धानले पत्ता लगाउला। तर अर्को प्रश्न अनुसन्धानले मात्र मेटाउँदैन—किन यस्ता अवस्था पटक–पटक सिर्जना भइरहेका छन्? किन प्रत्येक घटनापछि छानबिन समिति गठन हुन्छ, तर नागरिकले फेरि अर्को गोलीकाण्डको खबर सुन्नुपर्छ?
सबैभन्दा ठूलो प्रश्न अहिले राजनीतिक नेतृत्वतर्फ सोधिएको छ। प्रधानमन्त्री र गृहमन्त्रीबाट नागरिकले स्पष्ट, विश्वसनीय र समयमै सार्वजनिक सम्बोधनको अपेक्षा गरेका थिए। सरकारले केही प्रशासनिक कदम चालेको भए पनि नागरिकको ठूलो वर्गले अझै पनि स्पष्ट राजनीतिक सन्देश र भरोसाको अभाव महसुस गरिरहेको देखिन्छ। यही कारण सामाजिक सञ्जालदेखि सडकसम्म सरकारप्रति असन्तुष्टि बढ्दै गएको छ। केही प्रदर्शनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन्।
रास्वपाको नेतृत्व सरकार बन्दै गर्दा अब फेरि देशमा कसैले गोलि खानुपर्दैन भनेर सपथ सँगै प्रतिबद्धता गरेका प्रधानमन्त्री बालेन शाह दर्जनौं नागरिकले ज्यान गुमाउदा किन मौन छन् ? नेपाल फेरि अशान्त छ। सुनसरी र सिरहमा गोली चल्यो। नागरिकले ज्यान गुमाए। त्यसको केही दिनमै सिरहाको गोलबजारमा फेरि गोली चल्यो। फेरि एक जनाको मृत्यु भयो। परिवारहरू शोकमा छन्। समाजमा डर छ। देशभर तनाव छ।
यस्तो बेला नागरिकले केवल सरकारलाई मात्र होइन, देशका प्रभावशाली नेताहरूलाई पनि हेर्छन्। उनीहरूबाट कम्तीमा एउटा शब्द, एउटा सन्देश, शान्तिको अपिल वा पीडितप्रति संवेदनाको अपेक्षा गर्छन्। तर अहिले धेरैले एउटा प्रश्न उठाइरहेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) किन मौन छन्?
बालेन शाह पछिल्ला वर्षहरूमा राष्ट्रिय मुद्दामा खुलेर धारणा राख्ने नेताका रूपमा परिचित बने। संघीय सरकारसँग विवाद हुँदा उनी बोले। भ्रष्टाचार, सुशासन, प्रशासनिक कमजोरी र राजनीतिक संस्कृतिमाथि उनले पटक–पटक सार्वजनिक रूपमा टिप्पणी गरे। उनका सामाजिक सञ्जालका सन्देशहरू राष्ट्रिय बहसको विषय बन्थे। त्यसैले आज पनि धेरै नागरिकको अपेक्षा स्वाभाविक रूपमा उनीतर्फ गएको छ। तर आफै नेतृत्वमा रहँदा देखिएको लाचारपनलाई अहिले त्यही प्रश्नले गिज्याईरहेको छ । देशको कार्यकारी प्रमुख नै मुख थुनेर बसेपछि अहिले सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ,।बालेनको आवाज कहाँ छ? के उनी यस विषयमा बोल्न चाहँदैनन्? कि उनी तथ्य स्पष्ट नहुँदासम्म पर्खिरहेका छन्? यसको उत्तर उनी स्वयंले मात्र दिन सक्छन्।
दिनहुँ सडकमा गोलि हानेर नागरिक मारिदा सरकारले कुनै कदमै चालेको छैन । प्रश्न अझै उही छ । किन बारम्बार नागरिकमाथि गोली चल्ने अवस्था सिर्जना भइरहेको छ? किन प्रत्येक घटनापछि छानबिन समिति गठन हुन्छ तर दीर्घकालीन समाधान देखिँदैन? यदि दोषी पहिचान हुन समय लाग्छ भने त्यसबीच जनताको सुरक्षा कसले सुनिश्चित गर्ने?
नेपालको संविधानले प्रत्येक नागरिकलाई बाँच्न पाउने अधिकार दिएको छ। राज्यको पहिलो दायित्व नै नागरिकको सुरक्षा हो। आन्दोलन होस् वा विरोध प्रदर्शन, कानून कार्यान्वयनको नाममा अनावश्यक बल प्रयोग भएमा त्यसको निष्पक्ष अनुसन्धान र जवाफदेहिता अनिवार्य हुन्छ। त्यस्तै, यदि हिंसात्मक समूहले गोली चलाएको हो भने उनीहरूलाई पनि कानूनी दायरामा ल्याउनु राज्यको समान दायित्व हो।
आज देशले राजनीतिक आरोप–प्रत्यारोपभन्दा बढी सत्य चाहेको छ। गोली कसले चलायो? आदेश कसले दियो? सुरक्षा संयन्त्र कहाँ चुक्यो? भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले के नयाँ रणनीति बनाउँदैछ? यी प्रश्नको स्पष्ट उत्तर आउन बाँकी छ।
अहिले सबैभन्दा आवश्यक कुरा संयम, निष्पक्ष अनुसन्धान र पारदर्शिता हो। अफवाहले समाजलाई थप विभाजित बनाउँछ भने तथ्यले मात्र न्यायको बाटो खोल्छ। त्यसैले सरकारले छिटो, विश्वसनीय र सार्वजनिक रूपमा अनुसन्धानको प्रगति जानकारी गराउनु आवश्यक छ। नागरिकले केवल आश्वासन होइन, परिणाम चाहिरहेका छन्।
सुनसरी र सिरहाका घटनाले फेरि एउटा कठोर सन्देश दिएका छन् सुरक्षा चुनौती अब स्थानीय घटनामा सीमित छैन। समयमै प्रभावकारी राजनीतिक नेतृत्व, निष्पक्ष अनुसन्धान र कानूनी कारबाही भएन भने यस्तो तनाव अझ फैलिन सक्ने जोखिमलाई बेवास्ता गर्न सकिँदैन। अहिले देशले सबैभन्दा बढी खोजेको कुरा एउटै हो—सत्य, न्याय र जिम्मेवार नेतृत्व। त्यसको लागि प्रधानमन्त्री बालेन र गृह जिम्मेवार हुनुपर्छ । र मुलुकमा शान्ती कायम गरिनुपर्छ ।