सुर्खेत । डोटीमा श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ।
जोरायल गाउँपालिका–४ देउथलीका ५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरेपछि ४७ वर्षीया श्रीमती अमृता ओलीमाथि कुटपिट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार बुधबार दिउँसो करिब १ः४५ बजे भएको कुटपिटबाट अमृता ओलीलाई गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारका लागि उनलाई स्वास्थ्य चौकी चन्कट्टे लगिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो।
सेती अस्पतालमा चिकित्सकले परीक्षणका क्रममा अमृतालाई मृत घोषणा गरे ।
चन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरेको छ। उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयका शिक्षक हुन् ।