रुकुम पश्चिमको आठबिसकोट-९ स्थित पिसजोन एजुकेशनल एकेडेमी प्रा.लि.ले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक रूपमा फैलाइएको गलत सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले एक विज्ञप्ति जारी गर्दै उक्त सूचना आधारहीन, भ्रामक तथा कपोलकल्पित रहेको स्पष्ट पारेको हो।
बिजय विकको हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, फेसबुकमा व्यक्त गरिएको सामग्री कुनै पनि आधिकारिक निकायको तथ्य, प्रमाण वा निर्णयमा आधारित नभएको र यसले संस्थाको प्रतिष्ठा र विश्वसनीयतामा आँच पुर्याउने उद्देश्यले फैलाइएको आरोप लगाइएको छ। यस्ता भ्रामक सूचनाले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा अनावश्यक भ्रम सिर्जना गरेको संस्थाको भनाइ छ।
कृष्ण गहतराज नामक फेसबुक मार्फत पिसजोन एकेडेमीले कक्षा ८ मा परीक्षा अगावै प्रश्नपत्र आउट गरेर शतप्रतिशत विधार्थी उतिर्ण गरेको गम्भीर आरोप लगाएका थिए। उनले फेसबुकमा स्टाटस लेखेको केही समयमै गलत जानकारी पाएको भन्दै स्टाटस हटाएर माफी मागेका छन् । संस्थाले यस प्रकारका गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै सम्बन्धित व्यक्तिलाई आफ्नो अभिव्यक्तिको प्रमाण सार्वजनिक गर्न चुनौती दिएको छ। साथै, सामाजिक सञ्जाल मार्फत निरन्तर रूपमा गलत सूचना फैलाउने कार्य रोक्न प्रशासन र सरकार समक्ष कानुनी कारबाहीको माग गर्ने पनि जनाएको छ।
संस्थाले अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई अपुष्ट र तथ्यहीन सूचनामा विश्वास नगर्न आग्रह गर्दै आफूहरू सधैं गुणस्तरीय शिक्षा, पारदर्शिता र अनुशासनमा प्रतिबद्ध रहेको जनाएको छ।
विज्ञप्तिमा संस्थाले आवश्यक परे कुनै पनि आधिकारिक छानबिन वा सत्यापन प्रक्रियामा पूर्ण सहयोग गर्न तयार रहेको पनि उल्लेख गरेको छ।
