काठमाडौं । आन्तरिक राजस्व विभागले विभागले मातहतका कर्मचारीहरूका लागि आचारसंहिता जारी गरेको छ । विभागले कर्मचारीले सेवाग्राहीप्रति सम्मानजनक, समान तथा समतामूलक व्यवहार गर्नुपर्ने कुनै पनि प्रकारको मोलाहिजा, पक्षपात वा पूर्वाग्रह नराखी राष्ट्र र जनताको वृहत्तर हितलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ ।
यस्तै, कर्मचारीहरूले परस्परमा सम्मानजनक र सौहार्दपूर्ण व्यवहार गर्नुपर्ने, करप्रशासनप्रति जनविश्वास अभिवृद्धि गर्न कर्मचारीहरूले आफ्नो व्यावसायिक तथा निजी जीवनमा उदाहरणीय आचरण प्रदर्शन गर्नुपर्ने र धर्म, वर्ण, लिङ्ग, जातजाति, क्षेत्र, भाषा वा आस्थाका आधारमा कुनै भेदभाव नगरी तटस्थ रुपमा सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरेको छ ।
आचारसंहितामा करदाता, सेवाग्राही तथा सरोकारवालासँग निष्पक्ष, पारदर्शी र मैत्रीपूर्ण व्यवहार गर्नुपर्ने, निर्णय गर्दा वस्तुनिष्ठ, तथ्यगत र प्रमाणमा आधारित हुनुपर्ने, सेवा प्रवाह छिटो, सरल, सहज र प्रभावकारी बनाउनु पर्ने, सेवा प्रवाह गर्दा सार्वजनिक हितलाई सर्वोपरि मान्नु पर्ने र पदीय जिम्मेवारी र कामकारबाहीप्रति लगनशील र तत्पर रहनुपर्ने उल्लेख गरेको छ ।