रुकुम पश्चिम । नेकपाका कर्णाली प्रदेश समिति अध्यक्ष तथा पुर्व मन्त्री
बिमला केसीले नेपाली समाजमा गहिरो रूपमा रहेको छुवाछुत, अपमान र अवसरको असमानताविरुद्ध संघर्ष गर्न राजनीतिमा होमिएको बताएकी छन् । केसीले आफू दलित , महिला माथि हुँदै आएको विभेद अन्त्य गर्ने संकल्पका साथ राजनीतिमा आएको स्पष्ट पारेकी हुन्।
नेकपा रुकुम पस्चिमको चुनावी भेटघाट तथा घरदैलो अभियान कार्यक्रममा बोल्दै केसीले भनिन, “महिला र दलित हुनु आफैँमा अभिशाप होइन, तर समाजले त्यसलाई अभिशापजस्तै व्यवहार गर्छ । त्यही सोच तोड्न म राजनीतिमा आएकी हुँ।” राजनीतिक वृत्तमा दलित महिलाबाटै नेतृत्व उदाउनु समावेशी लोकतन्त्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताईन्। केसीले सर्वहाराहरुको पक्षमा ओकालत गर्ने तत्कालिन नेकपा माओवादी केन्द्र भएकाले आफुले माओवादीबाट संघर्ष गर्न सुरु गरेको बताईन्।
ग्रामीण दलित समुदायमा जन्मिएकी केसीले सानैदेखि विद्यालय, मन्दिर, होटल र सार्वजनिक स्थानमा भोगेको अपमान र विभेद नै आज आफ्नो राजनीतिक यात्राको आधार बनेको बताइन्। उनका अनुसार दलित महिलाको पीडा भाषण र नाराले होइन, नीति र निर्णयबाट मात्र अन्त्य गर्न सकिने भन्दै नेपाली कम्युनिष्ट पार्टीले महिला दलित समुदायमाथि हुँदै आएको छुवाछुत, अवसरको असमानता र सामाजिक बहिष्करण अन्त्य गर्ने प्रतिबद्धतासहित नेपाली कम्युनिष्ट पार्टी चुनावी मैदानमा सक्रिय बनेको छ। पार्टीले आफ्नो घोषणापत्रमा समेत दलित महिला सशक्तीकरणलाई प्रमुख प्राथमिकतामा राखेको केसीले बताईन्।