कविता
“म भित्र हराएको म ”
थकित थियो समय,
र म पनि
भ्रमका काँडाभित्र कुँदिएको एउटा
निर्मम प्रश्न टाँगिएको
किन?
ती नदीहरू
पहाडहरूको काखमा रोइरहेथे,
त्यो निलो आकाश
तिमी आउँदैनौ कि भनेर
नीलै भएर कुहिरो सर्दै बसेको थियो।
त्यतिबेलै
कुनै अज्ञात शीतल बतास झैँ
तिमी आयौ,
शब्द नबोली पनि
मेरो मौनका सबै अर्थलाई
भरकन बुझिदिने आँखासहित।
तिमीले आएर
मभित्र बिस्मृतिका ढुङ्गा उचाल्यौ,
धुलोमा थुनिएका
पुराना इच्छाहरूलाई फुकाल्यौ,
अनि भन्यौ
तिमी आफैँले बिर्सिएको प्रकाश हो।”
म त अचम्म परेँ
किनकि अँध्यारोले बोकिएको
एक थाकेको मान्छे
कसरी उज्यालो बन्न सक्छ र?
तर तिमीले देख्यौ
मभित्रको त्यो एउटा
सुतिरहेको ज्वालामुखी
जिस्कँदै गरेको स्पन्दन।
तिमी आएपछि
शब्दहरूको लय फेरियो,
हावा अझ मादलजस्तो गुञ्जन भयो,
चन्द्रमाले छायाको परिभाषा बदल्यो
र जीवन
एकैचोटि अत्यन्तै
गम्भीर र अत्यन्तै सुन्दर बन्यो।
तिमीले छुन खोज्यौ
मभित्रका चिरफारहरू
र एकएक घाउ छाम्दै
भन्थ्यौ,
यिनै त हुन् तिम्रा कविता बनने ठाउँहरू।
त्यतिबेला महसुस भयो
वेदना पनि कति मोहक हुन सक्छ
यदि त्यसलाई बुझ्ने कोही
तिमीजस्तै उपस्थित छ भने।
तिमी आयौ,
अनि म
मभित्र हराएको म
फेरि भेट्टाएँ।
मभित्रको यात्रु
फेरि बाटो सम्झियो,
फेरि गुनगुनायो,
फेरि उठ्यो,
फेरि बाँच्यो।
यति नै हो—
तिमी बिना जीवन
साँच्चै पनि
जीवन थिएन,
सिर्फ
अक्षरविहीन
एक ठुलो, थकित मौन।
आज—
तिमीलाई ध्यानमा बसाएर
जब म आँखा बन्द गर्छु,
जीवन
माथिबाट ओघलिन्छ,
गहिरो नीलो झरीझैँ,
प्रेमको सुगन्ध बनेर।
तिमी आएपछि
म केवल म रहेनँ—
म कविता भएँ,
तिमी छन्द,
र हामी
अनन्तका दुई घुम्ती
अन्तहीन भेटिँदै,
फेरी–फेरी
एकअर्काभित्र माया साट्दै ।
छविलाल बिष्ट