जेन–जी आन्दोलनका क्रममा सरकारी तथा निजी भवनमा भएको आगजनीमा प्रज्वलनशील रसायन प्रयोग भएको भए नभएको पत्ता लगाउन वैज्ञानिक परीक्षण गरिने भएको छ ।
Advertisement
आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक गतिविधि छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले महत्त्वपूर्ण भवनहरूबाट खरानी सङ्कलन गरेर परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई निर्देशन दिएको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
नेपाली सेनाले सङ्कलन गरेको विवरणअनुसार भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा सरकारी कार्यालयसहित करिब सात सय संरचनामा क्षति पुगेको छ । संसद् भवन, सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, मन्त्रीहरूको निवास लगायतका महत्त्वपूर्ण सरकारी कार्यालयमा आगजनी भएको थियो ।